काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले मध्यपूर्वमा युद्धका कारण सङ्कटमा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारलाई तत्काल सक्रिय हुन आग्रह गरेका छन्।
खाडी क्षेत्रमा चर्किएको द्वन्द्वका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपालीहरू जोखिममा परेको उल्लेख गर्दै उनले सरकारलाई सम्पूर्ण शक्ति परिचालन गर्नुपर्ने बताएका हुन्।
बास्कोटाले भने, ‘खाडी क्षेत्रमा चर्केको युद्धका कारण संकटमा फसेका र फस्न सक्ने नेपालीहरूको सुरक्षा र उद्धारका लागि सरकारले आफ्नो सम्पूर्ण शक्ति अविलम्ब लगाउनुपर्छ। ‘नजिकबाट नियालिरहेका छौँ’, ‘सम्पर्कमा छौँ’, ‘समन्वय गरिरहेका छौँ’ जस्ता झारा टारुवा र बकम्फुसे कुराको कुनै काम छैन।’
उनले नागरिकको सुरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै जोखिम क्षेत्रमा रहेका नेपालीको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्न ठोस र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।










