तेहरान : इरानको सेनाले टर्कीतर्फ कुनै मिसाइल प्रहार नगरेको दाबी गरेको छ । टर्कीले बुधबार इरानबाट प्रक्षेपित भएको भनिएको मिसाइललाई नाटोको हवाई प्रतिरक्षा प्रणालीले खसालेको बताएपछि इरानले यस्तो प्रतिक्रिया दिएको हो ।
इरानको सरकारी निकट समाचार एजेन्सी फार्सका अनुसार इरानी सशस्त्र बलको मुख्यालयले वक्तव्य जारी गर्दै टर्कीको सार्वभौमिकता र मित्रतापूर्ण सम्बन्धलाई सम्मान गर्ने भन्दै टर्कीको भूभागतर्फ मिसाइल प्रहार नगरेको जनाएको छ ।
टर्कीका अधिकारीहरूले भने उक्त मिसाइल इरानबाट प्रक्षेपण भई इराक र सिरियाको हवाई क्षेत्र हुँदै टर्कीतर्फ अघि बढेको र टर्कीको हवाई क्षेत्रमा प्रवेश गर्नु अघि नै नष्ट गरिएको बताएका थिए ।
मध्यपूर्वमा पछिल्लो साता सुरु भएको द्वन्द्वपछि नाटो बलले इरानबाट सदस्य देशतर्फ गइरहेको मिसाइल अवरोध गरेको सम्भवतः यो पहिलो घटना मानिएको छ ।









