काठमाडौँ : नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा) मा तालाबन्दी गरेको छ। आइतबार खेलाडीहरुले एन्फा परिसरमा विरोध प्रर्दशन गर्दै ३ बुँदे मागसहित तालाबन्दी गरेका हुन्। खेलाडीहरूको विरोध प्रदर्शनमा एन्फाले प्रहरी लगाएर बल प्रयोग गर्न खोजेपछि एन्फा परिसरमा नै बसेर विरोध जनाएका थिए।
खेलाडी संघले शहिद स्मारक ए डिभिजन लिग सञ्चालनको सुनिश्चितता जसमा ए डिभिजनको मिति तोक्नैपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गतवर्ष एकै प्रतियोगिताबाट जम्मा ६५ लाखसहित) र खेलाडीहरूको तलब भत्ता तथा पुरस्कार रकम उपलब्ध गर्नुपर्ने (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमिति बैठकबाट पास समेत भएको उपलब्ध गराउनु पर्ने माग राखेका छन्।
खेलाडी समंघले यसअघि पटक पटक वार्ता तथा सडक संर्घषका बाबजुद पनि आफूहरूको मागहरू एन्फाले वेवास्ता गरेका कारण एन्फा मुख्यालयमा तालाबन्दी गर्नुपरेको बताएको छ।
संघले आफूहरूको मागको उचित कार्यान्वयन नहुँदै संघले लगाएको ताला सहमति बिना खोले त्यसबाट आइपर्ने सम्पूर्ण क्षतिको जिम्मेवारी एन्फाले नै लिनुपर्ने बताएको छ।








