काठमाडौँ । चलचित्र ‘एक मुठ्ठी बादल : माई सेयर अफ स्काई’ को प्रदर्शन मिति तय भएको छ ।
निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मे १५ अर्थात् जेठ १ गतेलाई फिल्मको प्रदर्शन मिति तय गरेको हो । लगभग सम्पूर्ण विधामा महिलाको नेतृत्व रहेको फिल्मलाई गौंथली इन्टरटेनमेन्ट र मन प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मलाई नेपालमा आरआर फिल्म्सले वितरण गर्नेछ ।
चलचित्रमा सहारा शर्माको लेखन तथा निर्देशन छ । अमेरिकाको न्युयोर्क बस्दै आएकी उनले यसअघि ‘चेजिङ रेन्बोज’ शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् जुन चलचित्र सन् २०१३ मा भएको काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलको ओपनिङ चलचित्र थियो ।
यो चलचित्रलाई अभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माताको रूपमा छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल छन् । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईं मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीको अभिनय छ ।
चलचित्रको छायांकन भियतनामकी लिन्ह डान गुयेन फानले गरेकी हुन्, जसले फिचर फिल्म छायांकन गर्ने पहिलो भियतनामी महिलाको रूपमा इतिहास रचेकी थिइन् र यो उनको सातौं फिचर फिल्म हो ।









