काठमाडौँ : ब्राजिलको राज्यस्तरीय फुटबल प्रतियोगिता क्याम्पियोनातो मिनेरोको फाइनल खेलमा ठूलो झडप भएपछि दुवै टोलीका गरी २३ खेलाडीलाई रातो कार्ड देखाएर निष्कासन गरिएको छ ।
सोमबार भएको फाइनलमा क्रुजेरो इस्पोर्टे क्लब र एट्लेटिको मिनेरो क्लबबीच प्रतिस्पर्धा भएको थियो । खेल ब्राजिलको प्रसिद्ध मिनेराओ स्टेडियममा भएको थियो । निर्धारित समयको खेलमा क्रुजेरोले १–० को जित निकाल्दै उपाधि जित्यो ।
तर खेलको अन्त्यतिर दुवै टोलीका खेलाडीबीच झडप भएपछि मैदानमा तनावपूर्ण अवस्था सिर्जना भयो । विवाद सुरु भएपछि खेलाडीहरूबीच धक्का–मुक्की र हात हालाहालसम्मको स्थिति बनेको थियो ।









