काठमाडौँ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा उल्लेखनीय सफलता प्राप्त गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै आगामी सरकारले देशमा सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
मंगलबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै घिसिङले नयाँ सरकारबाट हुने सकारात्मक कार्यमा आफ्नो पार्टीले साथ दिने तर जनहित विपरीत कदम चालिएमा सडकबाटै रचनात्मक खबरदारी गर्ने बताएका हुन्। उनले जनताले परिवर्तन र आर्थिक समृद्धिको अपेक्षासहित रास्वपालाई ठूलो जनमत दिएको उल्लेख गर्दै त्यसको सम्मान गर्दै परिणाममुखी शासन सञ्चालन गर्न आग्रह गरेका छन्।
उज्यालो नेपाल पार्टीले निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गर्दै घिसिङले आफ्ना नेता-कार्यकर्तालाई निराश नहुन अपिल गरेका छन्। उनले लोडसेडिङ अन्त्य जस्ता उपलब्धिबाट जनताको विश्वास जितिएको भए पनि यसपटक मत परिणाम आफ्नो पक्षमा नआएको टिप्पणी गरेका छन्।
घिसिङका अनुसार निर्वाचनमा पराजय हुनु प्राविधिक विषय मात्र भएको र छोटो समयमै मतदाताबाट प्राप्त माया, विश्वास र सद्भाव आगामी यात्राका लागि ऊर्जा र मार्गदर्शन बनेको छ। उनले परिणामबाट निराश नभई उज्यालो नेपाल निर्माणको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।







