गगन थापालाई सभापतिबाट राजीनामा नदिन गोपालमानको सुझाव

२०८२ फाल्गुन २७, बुधबार

काठमाडौं : नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले पार्टी सभापति गगनकुमार थापालाई पदबाट राजीनामा नदिन सुझाव दिएका छन् ।

भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भोगेको अनपेक्षित नतिजापछि भइरहेको आलोचना र राजीनामाको दबाबबीच श्रेष्ठले थापाको दृढतापूर्वक बचाउ गरेका हुन् । कठिन परिस्थितिमा नेतृत्वले मैदान छाड्नु पार्टी र देश दुवैको हितविपरीत हुने उनको निष्कर्ष छ ।

सामाजिक सञ्जालमार्फत सभापति थापालाई सार्वजनिक सन्देश दिँदै नेता श्रेष्ठले चुनावको हारजितभन्दा पनि लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता र विधिको शासन महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । निर्वाचनको परिणामलाई उनले नेतृत्वको असफलताको रूपमा मात्र नहेरी, समयको मागअनुसार कांग्रेसलाई बदल्न नसकिएको सन्दर्भमा जनताले दिएको कडा चेतावनीका रूपमा अर्थ्याएका छन् ।

परम्परागत ढर्राबाट अब पार्टी नचल्ने भन्दै उनले युवा पुस्ताको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि वडा तहदेखि केन्द्रसम्मै कांग्रेसको साङ्गठनिक संरचनालाई नयाँ सिराबाट सुदृढ गर्दै अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ ।

नेता श्रेष्ठले गगन थापाको राजनीतिक साहस, दूरदृष्टि र युवालाई ऊर्जा भर्न सक्ने क्षमताको खुला प्रशंसा गरेका छन् । ‘यस कठिन घडीमा राजीनामा ल्याउनु वा राजीनामा गर्नुले पार्टी र देश दुवैका लागि हितकर हुँदैन,’ श्रेष्ठले आफ्नो सन्देशमा भनेका छन्, ‘बरु, हामी सबै कांग्रेसीजनहरू एकढिक्का भएर तपाईँलाई साथ दिनु आवश्यक छ ।’ थापाकै नेतृत्वमा पार्टीले नयाँ दिशा, आशा र रूपान्तरणको बाटो तय गर्नेमा आफू विश्वस्त रहेको पनि उनले स्पष्ट पारेका छन् ।

पार्टीभित्र निराशा र आलोचना बढिरहेको वर्तमान सङ्कटपूर्ण अवस्थामा सिङ्गो कांग्रेस पङ्क्ति गुटउपगुटभन्दा माथि उठेर एकजुट हुनुपर्ने श्रेष्ठको अपिल छ । उनले नेतृत्वलाई पूर्ण समर्थन र ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसको रूपान्तरण अभियानमा काँधमा काँध मिलाएर अघि बढ्ने सङ्कल्पसमेत व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार