संखुवासभा : सङ्खुवासभाको चैनपुर नगरपालिका –७ मा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चैनपुर–७ फलाटेमा घाँस काट्ने क्रममा रुखबाट लडेर ४० वर्षीय राम बहादुर बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक सूचना अधिकारी धन बहादुर राजवंशीले बताए ।
बुधबार दिउँसो रुखबाट लडेर गम्भीर घाइते भएका बर्देवाको आधारभूत अस्पताल चैनपुरमा पुर्याउँदा अस्पतालले मृत घोषणा गरेको थियो ।घटना लगत्तै इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राई सहितको टोली घटनास्थल पुगेको थियो ।
उनको शव पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





