काठमाडौं : सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको मुद्दामा कास्की मालपोतका तत्कालिन प्रमुख रामचन्द्र अधिकारीसँग विशेष अदालतले १० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
उनी समेतको मिलेमतोमा ३ रोपनी ३ आना जग्गा गैरसुकुम्बासी भीमबहादुर विकको नाममा दर्ता गरेको अभियोगमा उनीविरुद्ध मुद्दा दायर भएको थियो। एक करोड ४० लाख २५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो। बुधबार उनी विशेष अदालतमा उपस्थित भएका थिए। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासमा बयानपछि थुनछेक आदेश भएको हो।
तत्कालिन मालपोत प्रमुख अधिकारी लिचिबारी जग्गासम्बन्धि घुस प्रकरणमा समेत मुछिएका कर्मचारी हुन्। उनको कास्की मालपोतमा थमौतीका लागि त्यसबेला तत्कालिन मन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठलगायतबिच घुस लेनदेन भएको अडियो बाहिरिएपछि अख्तियारले अनुसन्धान गरी त्यसमा छुट्टै मुद्दा दायर गरिसकेको छ। जून मुद्दामा गुप्ता भने कारागारमा छन्।





