धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् ।
आज प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपाले उक्त घटनाको छानबिन गर्न माग गरेको छ । संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले कर्मचारीले लगाएको आरोपबारे न्यायिक निकायले गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्ने बताए ।
वरिष्ठ डिजिनल वन अधिकृत भट्टले हालै एक अन्तरवार्तामा मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख घुस मागेको तर दिन नसकेकै कारण डिभिजन वन कार्यालय धनगढीको प्रमुखबाट हटाइएको दाबी गरेका छन् । भट्टलाई ३० साउनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयले धनगढीबाट डिभिजन वन कार्यालय पहलमानपुर सरुवा गरिएको थियो ।









