मतदान सकिए लगत्तै मतदाता भारत फर्किन थाले

२०८२ फाल्गुन २८, बिहीबार

सुदूरपश्चिम : निर्वाचनका बेला स्वदेश फर्किएका सुदूरपश्चिमेली मतदान सकिए लगत्तै रोजगारीका लागि कैलालीको त्रिनगर सीमा नाका हुँदै भारत फर्किन थालेका छन् ।

केही दिनदेखि नेपाल-भारतको त्रिनगर सीमा नाका हुँदै उनीहरू भारततिर फर्किन थालेका हुन् । रोजगारीका साथै उपचार, व्यापार तथा अन्य व्यक्तिगत कामका लागि दैनिक सयौँ नेपाली उक्त नाका हुँदै भारत जाने-आउने गर्छन् । त्रिनगर सीमा नाकामा भेटिएका कञ्चनपुरका पदम पन्तले मतदान गरेर आफू फेरि भारततिर जान लागेको बताए ।

उनले भने, ‘दुई महिनाअघि मतदान गर्न नेपाल आएको हुँ । अहिले फेरि काममा फर्किन थालेको छुँ ।’ खुला सीमा नाका कारण आवतजावत सहज भए पनि कतिपयका लागि भने आवश्यक कागजातको अभावले समस्या सिर्जना भएको छ । त्रिनगर नाकामै भेटिएकी अछामकी कल्सु साउदले उपचारका लागि भारत जान लागेको बताइन् । उनले भनिन्, ‘मतदान गरेपछि नेपालमै स्वास्थ्य जाँच गरौँ भन्ने सोचेकी थिएँ । तर अहिले नियमित चेकअपका लागि फेरि भारत जान लागेकी हुँ ।’

सुदूरपश्चिमका धेरै बिरामी उपचारका लागि भारतीय अस्पताल धाउँछन् । नेपाल-भारतबीचको खुला सिमाना रहेकोले दुई देशका नागरिकले धेरै ठाउँमा सहज रूपमा आवतजावत गर्न पाउने व्यवस्था छ । सुदूरपश्चिमका नागरिक दैनिक रोजगारी, व्यापार, शिक्षा र उपचारका लागि भारत जाने गर्छन् । बिहान नेपालबाट भारत काममा जाने र साँझ फर्किने व्यक्ति धेरै भेटिने गरेका छन् ।

नेपालमा निर्वाचन हुने जानकारी पाएपछि केही समयका लागि भारतलगायत विभिन्न देशमा काम गर्ने नेपाली मतदानका लागि घर फर्किएका थिए । निर्वाचन सम्पन्न भएपछि भने पुनः कामका लागि विदेश फर्किने क्रम देखिएको हो । विशेषगरी युवा तथा श्रमिक वर्गका नागरिक झोला बोकेर भारत जाने दृश्य सामान्य बनेको छ ।

सदियौँदेखि सुदूरपश्चिमेलीको रोजगारीको प्रमुख गन्तव्य स्थल भारत बनेको छ । सुरक्षा गार्ड, निर्माण क्षेत्र, होटल, उद्योग, कृषि तथा अन्य दैनिक ज्यालादारी काममा नेपालीले काम गर्ने गर्छन् । नेपालमा कामको अवसर कम हुनु र कमाइ पर्याप्त नहुनु भारत जाने प्रमुख कारण हो । रोजगारी मात्र नभएर स्वास्थ्य उपचारका लागि भारत जाने नेपालीको सङ्ख्या ठूलो छ ।

सुदूरपश्चिमका धेरै जिल्लामा विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र ठूला अस्पतालको अभाव छ । जटिल रोग लागेका बिरामी प्रायः भारतका अस्पतालमा भर पर्ने गरेका छन् । धनगढी, महेन्द्रनगरलगायत सीमावर्ती क्षेत्रबाट भारतका बरेली, हल्द्वानी, देहरादून, लखनउ, भोजीपुरा र दिल्लीसम्म उपचारका लागि बिरामी जाने गर्दछन् । खुला सिमाना भए पनि पछिल्लो समय सीमा पार गर्दा आवश्यक कागजातमा कडाइ गरेको छ ।

नागरिकता, मतदाता परिचयपत्र वा अन्य पहिचान कागजात नहुँदा कतिपय नागरिक सीमामै रोकिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार