काठमाडौं : नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) का नवनिर्वाचित अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले आफ्नो पदभार विधिवत रूपमा ग्रहण गरेका छन्।
फाल्गुन २८ गते बसेको नाडा केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा निवर्तमान अध्यक्ष करण चौधरीले नवनिर्वाचित अध्यक्ष उप्रेतीलाई पदभार हस्तान्तरण गरेका हुन्। पदभार हस्तान्तरणका क्रममा निवर्तमान अध्यक्ष चौधरीले उप्रेतीको सफल कार्यकालको शुभकामना दिँदै उनको नेतृत्वमा नाडाको संस्थागत विकास र अटोमोबाइल क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
सोही अवसरमा नवनिर्वाचित अध्यक्ष उप्रेतीले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै नाडाको विधान र मूल्य मान्यता अनुरूप संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता जनाए। उनले सदस्य व्यवसायीहरूको हकहित संरक्षण र अटोमोबाइल क्षेत्रको विकासका लागि सम्बन्धित सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य गर्ने धारणा राखे।
बैठकै क्रममा अध्यक्ष उप्रेतीले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम तीन सदस्यहरूलाई कार्यसमितिमा मनोनयन गरेका छन्। मनोनित हुनेहरूमा महेश पाल, दीपककुमार अग्रवाल र राजेश गिरी रहेका छन्। उनले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिमा सक्रिय भूमिका निभाउन आग्रह गरे।
साथै, नाडाको यस कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ। आगामी दिनमा अटोमोबाइल क्षेत्रको समग्र विकास र नीतिगत सहकार्यलाई थप सुदृढ बनाउँदै अघि बढ्ने नाडाले विश्वास व्यक्त गरेको छ।









