काठमाडौं : नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा पहिलोपटक केन्द्रीय प्रसारण लाइनले जोडिएको छ ।
भौगोलिक विकटताका कारण अहिलेसम्म केन्द्रीय लाइन पुग्न सकेको थिएन । ढोरपाटन उपत्यकासहित आसपासका बस्ती लघुजलविद्युत्को भरमा थिए ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट ३५ किलोमिटर लामो पश्चिममा रहेको ढोरपाटनमा केन्द्रीय लाइन पुर्याएको हो । प्राधिकरणका बागलुङ प्रमुख दिलीप मरासिनीले ११ केभी विद्युत् लाइन ढोरपाटन पुर्याएको जानकारी दिए । अघिल्लो वर्षदेखि नै विद्युत् पोल गाड्ने र लाइन तान्ने काम गरेको भन्दै बिहीबारदेखि नियमित विद्युत् प्रसारण भएको उनको भनाइ छ ।
१५ करोड रुपैयाँ लागतमा ढोरपाटनमा विद्युत् पुर्याएको प्रमुख मरासिनीले बताए । ढोरपाटनसम्म लाइन पुगेपछि अब स्थानीयका घरघरमा पुर्याउने उनको भनाइ छ । ढोरपाटन जोड्ने ११ केभी प्रसारण लाइन बिहीबारदेखि चार्ज गरिएको उनी बताउँछन् ।
प्रमुख मरासिनीले भने, ‘पश्चिम बागलुङको बुर्तिबाङमा केन्द्रीय लाइन पुगेको केही वर्ष मात्रै भयो, त्यसभन्दा माथि अधिकारीचौरसम्म दुई वर्षअगाडि पुगेको थियो, यसपालि ढोरपाटनसम्मै पुर्याएका छौँ, अब सानो हाइड्रोपावरबाट विद्युत् सेवा पाएका नागरिकले केन्द्रीय लाइन बाल्न पाउने छन् ।’
ढोरपाटन क्षेत्रमा एक बजार बढी घर दूरी छन् । स्थानीयले ४० किलोवाटको गर्पाखोला लघुजलविद्युत् आयोजना र ६० किलोवाटको ढोरपाटन भुजीखोला लघुजलविद्युत् आयोजनामार्फत विद्युतीय सेवा लिँदै आएका थिए ।
२०६८ मा सञ्चालनमा आएको गर्पाखोला लघुजलविद्युत् आयोजना र पाँच वर्षअगाडि आएको ढोरपाटन भुजीखोला लघुजलविद्युत आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन नहुँदा स्थानीयले सास्ती भोग्दै आएको ढोरपाटन नगरपालिका– ९ का अध्यक्ष खिमबहादुर घर्तीमगरले बताए । केन्द्रीय लाइन आएपछि अब सहज हुने उनको भनाइ छ ।
अध्यक्ष घर्तीमगरका अनुसार ढोरपाटन उपत्यकाको सलथान, बिजौलीखोला, छन्तुङ, खाल्डेखुल्डेलगायत करिब २५० बढी घरमा अहिलेसम्म विद्युत् नै नपुगेको बताए । स्थानीयले माग गरेपछि हामीले सहजीकरण गरेर लाइन जडान गर्ने उनी बताउँछन् ।
‘ढोरपाटनका धेरै घरमा अझै पनि विद्युत् नपुगेको अवस्था छ, स्थानीयले टुकी र दियालो बालेर रात कटाउँदै आएका छन्, केन्द्रीय लाइन आयो, अब सहज हुनेछ”, अध्यक्ष घर्तीमगरले भने, ‘अब कोही पनि नागरिकले विद्युत सुविधा लिनबाट वञ्चित हुनुपर्ने छैन ।’
ढोरपाटन होटल व्यवसायी संघका अध्यक्ष जीवन पुनले जलविद्युत्बाट पर्याप्त विद्युत् उत्पादन नहुँदा विद्युतीय मेसिन चलाउन नपाएको भन्दै अब कपडा धुने मेसिन, हिटरलगायत उपकरण चलाउन सकिने बताए । ढोरपाटनमा अत्यधिक चिसो हुने हुँदा बाह्रै महिना हिटर चलाउनुपर्ने अवस्था रहे पनि अहिलेसम्म स्थानीय हाइड्रोपावरबाट कम क्षमताको विद्युत् उत्पादन हुँदा चलाउन नपाएको पुनले बताए ।









