काठमाडौं : इरानसँगको युद्धमा संलग्न एक अमेरिकी सैन्य ‘रिफ्युलिङ’ विमान पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार घटनापछि उद्धार कार्य जारी छ ।
सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनामा परेको विमान हवाइ इन्धन भर्न प्रयोग गरिने केसी–१३५ ट्यांकर हो। यो घटना अमेरिकी सैन्य अभियान ‘अपरेसन एपिक फ्युरी’का क्रममा भएको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डले उक्त दुर्घटना शत्रुपक्षको आक्रमण वा आफ्नै सेनाको अन्जानबसको प्रहारका कारण नभएको स्पष्ट पारेको छ।
सेन्ट्रल कमान्डले सामाजिक सञ्जाल ‘एक्स’मा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनामा दुईवटा विमानहरू संलग्न थिए । एउटा विमान सुरक्षित रूपमा अवतरण गर्यो भने अर्को पश्चिमी इराकमा दुर्घटनाग्रस्त भयो ।’ सेनाका अनुसार दुर्घटनामा परेको विमान पूर्ण रूपमा नष्ट भएको छ भने उद्धार कार्य जारी छ।
‘थप विवरणहरू संकलन गर्न र सेवामा रहेका सदस्यहरूको परिवारलाई स्पष्टता प्रदान गर्न हामी निरन्तर धैर्यताको लागि अनुरोध गर्दछौँ,’ सेन्ट्रल कमान्डले भनेको छ।





