काठमाडौँ : बेलायतले नेपालमा अब गठन हुने रास्वपा नेतृत्वको सरकारसँग आफूहरु काम गर्न उत्सुक रहेको प्रतिक्रिया दिएको छ ।
बुधबार बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीसँगको भेटमा इण्डो प्यासिफिक मामिला हेर्ने बेलायतीमन्त्री सीमा मल्होत्राले रास्वपा नेतृत्वको सरकारसँग बेलायत काम गर्न उत्सुक रहेको जानकारी गराएकी हुन् ।
हालै सम्पन्न निर्वाचनमा रास्वपाले आरामदायी बहुमत हासिल गरेको छ । केही दिनमै रास्वपा नेतृत्वको सरकार गठन हुने भएपछि बेलायतले आफ्नो धारणा राखेको हो ।
बेलायती विदेश मन्त्रालयमा कार्यवाहक राजदूत दुवाडी र बेलायतीमन्त्री मल्होत्राबीचको भेटमा नेपालको व्यापार, लगानी, जलवायू परिवर्तन, सामाजिक आर्थिक विकासमा बेलायती सहयोग र प्राथमिकताको विषयमा कुराकानी भएको छ ।
सो क्रममा रास्वपा नेतृत्वको सरकारसँग मिलेर काम गर्न बेलायत उत्सुक रहेको बताउँदै मन्त्री मल्होत्राले नेपाललाई सहयोग गर्ने विषयमा बेलायत सकारात्मक रहेको बताइन् ।
तर, रास्वपा र रास्वपा नेतृत्वको सरकारको प्राथमिकताको विषयमा भने बेलायतले चासो राखेको छ ।
यसअघि निर्वाचनपछि काठमाडौंस्थित बेलायती दूतावासले रास्वपालाई बधाई दिएको थियो ।
सन् १८१६ बाट नेपाल र बेलायतको औपचारिक सम्बन्ध सुरु भएको थियो ।





