काठमाडौं : अरनिको राजमार्ग अन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्ड कालोपत्र (पक्की) गर्न चैत महिनामा दुई हप्ताका लागि राति यातायात बन्द गरिने भएको छ।
निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको यो सडक विस्तारका लागि गत कात्तिकमा नयाँ निर्माण कम्पनीसँग सम्झौता भएपछि अहिले कामले तीव्रता पाएको हो। सडक कालोपत्र गर्न चैत ७ गतेदेखि २० गतेसम्म राति यातायातका साधन पूर्ण रूपमा बन्द गरेर काम गर्ने तयारी गरिएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गर्दै उक्त अवधिमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
सडक डिभिजन कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार, उक्त अवधिमा साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म ठूला चारपाङ्ग्रे सवारी साधन र यात्रुवाहक बस सञ्चालनमा रोक लगाइएको छ। कार्यालयले सो समयमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
सडक निर्माणमा ढिलाइ हुँदा विगत तीन वर्षदेखि यो राजमार्गमा यात्रा गर्न निकै कष्टकर हुँदै आएको छ। पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि कार्यालयले गत साउनमा पुन: बोलपत्र आह्वान गरेको थियो। चार किलोमिटर दूरीको यो सडकखण्ड नयाँ निर्माण कम्पनीले समयमै सक्नेमा आशावादी रहेको इन्जिनियर योगेशले बताए। यसअघि धुलिखेलदेखि खावासम्मको यो सडक तोकिएको समयमा नसकिएपछि कार्यालयले पुरानो कम्पनीसँगको ठेक्का रद्द गरेको थियो।
यसअघि २०७९ जेठ २० मा सम्झौता गरी २०८० चैत १९ भित्र काम सक्ने जिम्मा लिएको कम्पनीले काम नगरेपछि गत फागुन १५ गते ठेक्का सम्झौता तोडिएको थियो। यो सडक विस्तारका लागि रु २० करोड १९ लाख ४६ हजार ५०१ मा ठेक्का लगाइएको थियो। अरनिको राजमार्ग चीनसँगको तातोपानी नाकासहित सिन्धुपाल्चोक, दोलखा र रामेछाप जाने मुख्य सडक हो। लामो समयसम्म सडक नबन्दा यात्रुहरू धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
उक्त सडकमा गुड्ने मालवहाक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएका सडकमा दुर्घटना हुँदा यात्री घाइते भइसकेका छन् ।







