काठमाडौं : इरानका विदेशमन्त्री अब्बास अरागचीले नवनियुक्त सर्वोच्च नेता मोजतबा खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको जानकारी गराएका छन् ।
कतारको दोहामाअल अरबी अल जदिदसँगको अन्तर्वार्ताका क्रममा उनले खामेनीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनले देशको परिस्थितिलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको दाबी गरेका हुन् । ‘हाम्रो नेता स्वस्थ हुनुहुन्छ र उहाँले परिस्थितिलाई दृढताका साथ सम्हाल्नुभएको छ,’ विदेशमन्त्री अरागचीले अन्तर्वार्ताका क्रममा भनेका छन् ।
अयातोल्लाह अली खामेनीको मृत्युपछि मोजतबा खामेनीले पदभार ग्रहण गरेका थिए । पछिल्लो समय उनीमाथि भइरहेका विभिन्न अड्कलबाजीहरूको खण्डन गर्दै उनले आधिकारिक रुपमा स्पष्टीकरण दिएका हुन् । विदेशमन्त्री अरागचीले इरानको आन्तरिक अवस्था स्थिर रहेको पनि बताएका छन् । सरकारी निकाय वा सेनाभित्र कुनै पनि किसिमको विभाजन नरहेको उनको भनाइ थियो ।
‘इरानमा अवस्था सामान्य छ, हाम्रा राजकीय संस्थाहरू र सैन्य संरचनाहरू एकढिक्का भएर काम गरिरहेका छन्,’ उनले भनेका छन् । इरान र इजरायल–अमेरिबीच जारी तनाव तेस्रो हप्तामा प्रवेश गरेको छ । इजरायलले इरानका रणनीतिक तेल पूर्वाधारहरूमा आक्रमण तीव्र पारिरहेको छ भने तेहरानले आफ्नो नेतृत्व बलियो रहेको सन्देश दिन खोजेको छ ।









