काठमाडौं : प्रधानमन्त्री शुसीला कार्कीले अब आफू पुरानै निजी दैनिकीमा फर्किने बताएकी छन्।
राष्ट्रिय समाचार समिति (रासस)की कालिका खड्कासँगको अन्तर्वार्तामा प्रधानमन्त्री कार्कीले अब आफूलाई अरू कुनै पदको मोह नभएको भन्दै पुरानै दैनिकीमा फर्किने बताएकी हुन्।
‘पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचिसक्नुभएको छ। अब जिम्मेवारीबाट बाहिरिएपछि के गर्नुहुन्छ?’ भन्ने प्रश्नमा उनले भनिन्, ‘मैले विषम परिस्थितिमा प्रधानमन्त्री भएर गर्नुपर्ने काम पूरा गरेँ। अब म पुरानै निजी दैनिकीमा फर्किन्छु।’ ‘राष्ट्रपति हुने चर्चा पनि छ नि?’ भन्ने प्रश्नमा उनले थपिन्, ‘अब अरू कुनै मोह छैन । मभन्दा लायक र अवसर नपाएका मानिसहरू पनि धेरै हुनुहुन्छ।’
उनले आफू नेतृत्वको सरकारलाई चुनाव गराउने जिम्मेवारी रहेको र त्यो पूरा गरेको बताइन्। अब देश सबै मिलेर बनाउने समय आएको पनि उनले उल्लेख गरिन्।
उनले भनिन्, ‘अब देशमा द्वन्द्व र तनावको अवस्था नहोस्। सबै मिलेर बस्ने वातावरण बनोस्। बालेनको चुनावी अभियानले तराई, पहाड र हिमाल एक भएको सन्देश दिएको मैले बुझेको छु। मलाई बालेनप्रति विश्वास पनि छ, केही राम्रो होला भन्ने आशा छ।’









