काठमाडौँ : नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
अन्तरराष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबाबलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ । निगमले २०८२ चैत १ गते जारी गरेको प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रति लिटर १५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर १० रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यो नयाँ मूल्य दर २०८२ चैत २ गते बिहान ००:०१ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
नयाँ मूल्य समायोजन अनुसार तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोलको मूल्य प्रति लिटर १७२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ । दोस्रो वर्गका क्षेत्रहरू सुर्खेत र दाङमा पेट्रोल १७१ रुपैयाँ र डिजेल १५१ रुपैयाँ कायम गरिएको छ भने पहिलो वर्गका तराईका जिल्लाहरूमा पेट्रोल १६९.५० रुपैयाँ र डिजेल १४९.५० रुपैयाँमा बिक्री हुनेछ ।
यति ठूलो दरमा मूल्य वृद्धि गर्दा पनि निगमलाई पाक्षिक रूपमा करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अवस्था रहेको विज्ञप्तिमा उल्लेख छ ।







