काठमाडौँ : अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली देशहरूले होर्मुज जलमार्ग खोल्न सहयोग नगरे उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)को भविष्यका लागि ‘धेरै खराब’ हुनसक्ने चेतावनी दिएका छन् ।
फाइनान्सियल टाइम्सलाई दिइएको अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले यस्तो बताएका हुन् । उनले चीनले पनि होर्मुज जलडमरूमध्य खोल्न मद्दत गर्ने आशा व्यक्त गरे । ट्रम्पका अनुसार चीनले प्रयोग गर्ने करिब ९० प्रतिशत तेल यही जलडमरूमध्य हुँदै आपूर्ति हुने गर्छ ।
ट्रम्पले आफू र चिनिया रास्ट्रपति सि जिनपिङबीच बेइजिङमा मार्च अन्त्यतिर हुने तय भएको भेटघाटअघि नै चीनले केही कदम चाल्ने अपेक्षा रहेको बताए । ‘भेटघाट हुन अझै दुई हप्ता बाँकी छ, त्यो लामो समय हो,’ उनले भने।
उनले आफ्नो चीन भ्रमण स्थगित हुन सक्ने संकेत पनि गरे, तर यसबारे थप स्पष्ट विवरण भने दिएनन् ।
युरोपेली सहयोगीहरूको भूमिकाबारे बोल्दै ट्रम्पले होर्मुज जलडमरूमध्यबाट फाइदा लिने देशहरूले यसलाई पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु ‘उचित’ हुने बताए । युरोप र चीन दुवै खाडी क्षेत्रबाट आउने तेलमा धेरै निर्भर रहने ट्रम्पले स्मरण गराए ।
ट्रम्पले यदि अन्य देशहरूबाट कुनै प्रतिक्रिया नआएमा यसले नेटोको भविष्यलाई असर गर्न सक्ने चेतावनी दिए । साथै उनले अमेरिका आफ्ना युरोपेली सहयोगीहरूप्रति ‘धेरै नरम’ रहेको टिप्पणी पनि गरे।
अमेरिकी राष्ट्रपतिले भने, ‘हामीले युक्रेनलाई सहयोग गर्नु अनिवार्य थिएन। युक्रेन हामीबाट हजारौं माइल टाढा छ। तर पनि हामीले सहयोग गर्यौँ । अब उनीहरूले हामीलाई सहयोग गर्छन् कि गर्दैनन्, त्यो हेर्न बाँकी छ ।’





