काठमाडौं : राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा रहेको मछिन्द्र एफसी विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित भएको छ ।
सोमबार साँझ दशरथ रंगशालमा भएको खेलमा आर्मीले मछिन्द्रलाई २-१ ले पराजित गरेको हो । लिगमा मछिन्द्रको यो दोस्रो हार हो । हारपछि मछिन्द्रले शीर्ष स्थानमा स्पष्ट अग्रता बनाउने अवसर गुमाएको छ । मछिन्द्र ११ खेलबाट २५ अंकसहित अझै शीर्ष स्थानमै छ ।
सातौं जित हात पारेको आर्मी ११ खेलबाट २३ अंक जोडेर चौथो स्थानमा उक्लेको छ । लिग उत्तरार्धतिर अघि बढ्दा शीर्ष पाँचमा रहेका क्लबहरुबीच ३ अंकको मात्र फरक छ । यसले उपाधि होड प्रतिस्पर्धात्मक बनेको छ । नवयुग श्रेष्ठले ४०औं मिनेटमा गोल गर्दै आर्मीलाई पहिले अग्रता दिलाएका थिए । तर त्यसको तीन मिनेटपछि नै जोनाथान कान्टिलानाले मछिन्द्रका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुमै आर्मीले गोल गर्यो । जिलेस्पी जंग कार्कीले ४६औं मिनेटमा गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाएका थिए । त्यही गोल निर्णायक बन्दा आर्मीले ३ अंक जोडेको हो ।









