काठमाडौँ : फिल्म ‘कोशेढुंगा’ फेरि सेन्सर गरिएको छ । निर्माण युनिटले फिल्ममा रहेको १३, १४ मिनेटको दृश्य छोट्याएर पुनः सेन्सर गराएको हो ।
फिल्मको दोस्रो सेन्सर मंगलबार भएको चलचित्र सेन्सर बोर्डका सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । गत भदौमा प्रदर्शनमा आएको फिल्म प्रदर्शनरत समयमा सेन्सर नियम नमानेको भनेर विवादमा पनि परेको थियो । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले बोर्डको निर्देशन नमानेको भन्दै फिल्मको प्रदर्शनमा रोक लगाएको थियो ।
सेन्सरको रोकपछि फिल्मको सार्वजनिक प्रदर्शन तथा फेस्टिभल सहभागितामा समेत रोक लागेको थियो । फिल्मको सबै प्रदर्शन रोक लागेपछि निर्माण युनिटले सेन्सर बोर्डमा स्पष्टीकरण दिँदै फिल्म पुनः सेन्सर माग गरेको थियो ।
सरोज पौडेल निर्देशित श्री नरदेवी फिल्म्स् प्रा.लिद्वारा निर्मित ‘कोशेढुंगा’मा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल र हिउँवाला गौतमले अभिनय गरेका छन् ।









