काठमाडौँ : नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुदन गुरुङले आफ्नो सरकारी पारिश्रमिक जेनजी आन्दोलनका घाइतेहरूको उपचार र सहयोगमा खर्च गर्ने बताएका छन्। बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफ्नो यो निर्णय कुनै ‘पपुलिस्ट’ नभएको बताएका छन् ।
कतिपयले यस घोषणाको आलोचना गरेको भन्दै गुरुङले भनेका छन्, ‘मेरो घाइते भाइबहिनीहरूको घाउमा मलम लगाउन आफ्नो पारिश्रमिक खर्च गर्छु भन्दा केही साथीहरूलाई निकै छटपटी भएछ। सायद उहाँहरूमा निस्वार्थ सेवा गर्ने संस्कारको कमी भएर होला, त्यसैले अरूले गर्दा विश्वास नलाग्नु पनि स्वाभाविकै हो।’
विगत १० वर्षदेखि राज्यको कुनै पनि सुविधा नलिई आफ्नै व्यवसाय र पौरखबाट समाज सेवा गर्दै आएको स्मरण गराउँदै गुरुङले आफू सधैँ जनताको पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्। ‘अभावमा रहेकालाई काँध थाप्ने संस्कारमा हुर्किएको हुनाले यो मेरो नितान्त व्यक्तिगत इच्छा र विवेकपूर्ण निर्णय हो,’ उनले भनेका छन्, ‘जुन मैले बोलेर मात्र होइन, व्यवहारमै पूरा गरेर देखाउँदै आएको छु।’
उनले आफू हिजो पनि जनताकै साथमा रहेको र भोलिका दिनमा पनि यही बाटोमा अविचलित रहने स्पष्ट पारेका छन्। आफ्नो कर्मको मूल्यांकन समयले गर्ने उल्लेख गर्दै उनले सस्तो आलोचनाले आफूलाई विचलित नबनाउने बताएका छन्।
उनले आफ्नो स्टाटसमा अगाडि लेखेका छन्, ‘मेरो कर्मको कदर समयले गर्ला, तर सस्तो आलोचनाले मेरो संकल्प कदापि डगमगाउँदैन।’





