बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

२०८२ चैत्र ५, बिहीबार

काठमाडौं : जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो ।

आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस्ताव गर्दै आफन्त र गाउँलेले दबाब दिन्थे । रुबी सानै भए पनि विद्रोही स्वभावकी थिइन् । बालविवाह गरेर छोरीहरुले भोगेका पीडा उनले प्रत्यक्ष देखेकी थिइन् । त्यसमा पनि चर्को दाइजो प्रथाको सिकार भएका परिवारको अवस्था देख्दा उनलाई छटपटी हुन्थ्यो । तर, समाज उस्तै छ । रुबी हुर्किँर्दै गर्दा बिहेका त्यस्ता प्रस्ताव धेरै आए ।

यद्यपि रुबीले आमाबुबा समक्ष आफ्नो अडान राखिरहिन्, “पहिले देशको सेवा गर्छु, अनि मात्र बिहे ।” धेरै पटकको प्रतिवादपछि रुबी बालविवाहबाट जोगिइन् । सिभिल इञ्जिनियरिङमा अध्ययनरत २५ वर्षिया रुबी हालै समानुपातिक तर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छिन् । उनी श्रम संस्कृति पार्टीबाट निर्वाचित भएकी हुन् ।

निर्वाचन आयोगबाट निर्वाचित भएको प्रमाणपत्र लिएपछि उनले भावुक हुँदै भनिन्, “मधेसको बालविवाह र दाइजोप्रथा जस्ता कुसंस्कार हटाउनुछ ।” उनका अनुसार मधेसमा अधिकांश छोरीहरुको १६ वर्ष नपुग्दै बिहे गरिदिने चलन छ । छोराहरु रुँदै मजदुरीका लागि विदेशिन बाध्य छन्। रुबीका बुवा पनि दश वर्षदेखि मजदुरीका लागि साउदीमा छन् । अब पहिलो काम उनी बुबालाई घर फर्काउन चाहहन्छिन्।

“स्वदेशमै रोजगार भए कसलाई विदेशिन मन लाग्छ र ? ”, उनले भनिन्, “स्वदेशमै रोजगार भए, बुबा विदेशिनु पर्थेन । मेरो बुबा जस्ता धेरै नेपाली विदेशमा छन् । उनीहरुलाई स्वदेशमै फर्काउन चाहन्छु ।” कुमारीको अर्को मुद्दा स्वदेशमै युवा रोजगार सिर्जना गर्न आवाज उठाउने रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार