तेहरान : इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रवक्ता जनरल अली मोहम्मद नैनीको शुक्रबार एक भीषण हवाई आक्रमणमा परी मृत्यु भएको छ। आईआरजीसीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै आफ्ना शीर्ष कमाण्डरको मृत्यु भएको पुष्टि गरेको हो।
मृत्यु हुनुभन्दा केही घण्टाअघि मात्र जनरल नैनीले इजरायल र प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका लागि ‘सरप्राइज’ तयार रहेको दाबी गरेका थिए। उनले इरानको मिसाइल क्षमता चरम अवस्थामा रहेको र शत्रुले चाँडै नै यसको असर भोग्नुपर्ने चेतावनी दिएका थिए।
आफ्नो अन्तिम सार्वजनिक सम्बोधनमा उनले भनेका थिए, ‘युद्धका बावजुद इरानले लगातार मिसाइल उत्पादन गरिरहेको छ र हामीसँग पर्याप्त भण्डार सुरक्षित छ।’ तर यो बयान सार्वजनिक भएको केही समयमै अमेरिकी(इजरायली संयुक्त आक्रमणमा उनको ज्यान गएको पुष्टि भयो।
इरानले यस हवाई आक्रमणलाई ‘कायरतापूर्ण’ कार्यको संज्ञा दिएको छ। इरानी अधिकारीहरूका अनुसार यो हमला इरानको शीर्ष सैन्य नेतृत्वलाई सिध्याउने एउटा ठूलो अन्तर्राष्ट्रिय षड्यन्त्रको हिस्सा हो।
जनरल अली मोहम्मद नैनी आईआरजीसी का एक प्रभावशाली रणनीतिज्ञ र प्रवक्ता थिए। उनी विशेषगरी इरानको सैन्य रणनीति र मिसाइल कार्यक्रमका बारेमा कडा बयानबाजीका लागि चिनिन्थे ।
उनको मृत्युले इरानी रक्षा संयन्त्रमा ठूलो रिक्तता पैदा गरेको सैन्य विश्लेषकहरूको भनाइ छ।









