काठमाडौँ : सेयरबजार पुनः ओर्लिएको छ। मंगलबार बढेको बजार बुधबार ७४.७३ अंकले घटेर २७७६.३६ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार २.६२ प्रतिशतले झरेको दिन बजारमा १२ अर्ब १० करोडको कारोबार भएको छ। यस दिन ३ करोड कित्ता किनबेच भएको छ। यसमा १३ वटाको मात्रै बढ्दा २५५ वटाको मूल्य घटेको छ। बढेका १३ मध्ये रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी हाइड्रोको सेयरमा सर्किट ब्रेक लाग्दा भुजुङ हाइड्रो, रिजलाइन इनर्जी र सूर्यकुण्ड हाइड्रोको पनि ९.९९ प्रतिशतले बढेको छ।
घटेका २५५ मध्ये सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्सको सेयरमा गिरावट देखिएको छ। यो सेयर ९.८४ प्रतिशतले घटेको हो। यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंक, नेशनल हाइड्रो, शिवश्री हाइड्रोलगायत अधिकतम ७.२८ प्रतिशतसम्मले घटेका छन्। कारोबारमा आज हिमालयन रिइन्स्योरेन्स अगाडि छ। उसको ७१ करोडको कारोबार भएको छ।
त्यसैगरी अपि पावर ४५ करोड, ङादी ग्रुप पावर ४३ करोड, शिवम् सिमेन्ट ४२ करोड र नेपाल रिको ४२ करोडको कारोबार भएको छ। यस दिन सबै समूह राताम्य छन्।









