काठमाडौँ : नेपाली साङ्गीतिक रियालिटी शो ‘लोक दोहोरी स्टार’ को उपाधि निशा लामाले जितेकी छन् ।
राजधानीको राष्ट्रिय नाचघरमा मङ्गलवार अबेर साँझ सम्पन्न ग्राण्ड फिनालेमा उनले शीर्ष उपाधि जित्दै पुरस्कार स्वरूप १० लाख रुपैयाँ नगद पनि प्राप्त गरेकी छन् । शोमा मानव रावत क्षेत्री दोस्रो र लिलबहादुर गुरुङ तेस्रो घोषित भएका छन् । विभिन्न चरण पार गर्दै आएका टप ८ फाइनलिस्टहरू बिच अन्तिम स्पर्धा आयोजना गरिएको थियो ।
एभेन्टोज नेपाल र एभेन्टोज डिजिटलले आयोजना गरेको शोको निर्देशन माधवराज खरेलले गरेका थिए । आयोजक समितिका प्रमुख तथा निर्माता डेविल सिंह राजपूत, यादवबहादुर थापा र परमानन्द चौधरीको नेतृत्वमा भएको कार्यक्रमको व्यवस्थापनको जिम्मेवारी शैलेश नेपालीले सम्हालेका थिए ।
फाइनलको निर्णायकमा लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापामगर, लोकदोहोरी गायक राजु ढकाल, चन्द्र शर्मा र अमृत खाती रहेका थिए ।









