रास्वपाको जादुमय विजयमा टीओबीदेखि बारबरा फाउन्डेसनसम्मको भूमिका छ: बादल

२०८२ चैत्र १९, बिहीबार

काठमाडौँ : नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले रास्वपाको विजयमा नेपाली सेनासहित विभिन्न दृश्य–अदृश्य शक्तिको निर्णायक भूमिका रहेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै एमाले संसदीय दलका नेता समेत रहेका बादलले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनावमा रास्वपाले जादूमय जित निकाल्नुमा सेना, ब्युरोक्रेसी, सुशीला सरकार, कार्की आयोग, बारबार फाउन्डेनजस्ता संस्था र पात्रको निर्णायक भूमिका रहेको आरोप लगाए।

‘यो जादूमय विजयका ककसले निर्णायक भूमिका निर्वाह गरे असंख्य तथ्यले स्पष्ट पार्छन्, अदृश्य शक्तिहरु टीओबी, एआई, अल्गोरिदम, गोयबल्स, मिडिया ट्रायलहरू जसले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संघीयता, शान्ति र समृद्धिका नायकहरुलाई खुँखार खलनायक र हत्याराका रूपमा स्थापित गरे,’ बादलले बैठकमा भने, ‘देश जलाउने र आफ्नो राष्ट्रिय पहिचान मेटाउने खलपात्रलाई महानायक बनाए।’

रास्वपाको विजय चामत्कारिक भएपनि केही असाधारण प्रश्न जन्माएको बादलको भनाइ छ।
‘कुन उद्देश्य प्राप्तिका लागि सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत, बालुवाटार, प्रहरी चौकी, पार्टी कार्यालय सुनियोजित ढंगले जलाइयो? कसले अबोध विद्यार्थीलाई निषेधित क्षेत्र तोड्न उक्सायो,’ बादलले थपे, ‘हतियारबद्ध टीओबीहरू भदौ २३– २४ गते तिलस्मी रुपमा प्रकट भए।’

उनले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई गैरकानुनी ढंगबाट पक्राउ गरिएकोमा असन्तुष्टि जनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार