काठमाडौँ : साओमीले नेपाली बजारमा आफ्नो नयाँ उत्पादन ‘रेड्मी बड्स ८ लाइट’ (Redmi Buds 8 Lite) सार्वजनिक गरेको छ ।
डुअल-माइक्रोफोनसहितको एआई ईएनसी, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्री क्षमता यस इयरबड्स बजार भित्र्याएको कम्पनीले जानकारी दिएको छ । यो इयरबड्सलाई प्रयोगकर्ताको सहजताका लागि स्मार्ट र आरामदायी डिजाइनमा तयार पारिएको कम्पनीले जनाएको छ ।
यसमा रहेको ‘एक्टिभ न्वाइज क्यान्सेलेसन’ र ‘विन्ड न्वाइज रिडक्सन’ प्रविधिले बाहिरी अनावश्यक आवाज (जस्तै: मेट्रो, एसी वा हावाको ध्वनि) लाई कम गरी स्पष्ट ध्वनिको अनुभव प्रदान गर्छ । विशेषगरी अनलाइन मिटिङ वा लाइभ सेसनहरूमा स्पष्ट कुराकानी गर्न यसमा रहेको डुअल माइक्रोफोन प्रभावकारी हुने बताइएको छ ।
ध्वनि गुणस्तरका लागि यसमा १२.४ एमएमको टाइटेनियम डायफ्राम डाइभर प्रयोग गरिएको छ, जसले गहिरो र स्पष्ट अडियो प्रदान गर्छ । प्रयोगकर्ताले आफ्नो रुचिअनुसार ‘साओमी इयरबड्स एप’ मार्फत साउन्ड सेटिङ (EQ) परिवर्तन गरी बास बढाउन वा ट्रेबल सुधार गर्न सक्नेछन् ।
यो डिभाइसमा ‘डुअल-डिभाइस कनेक्टिभिटी’ फिचर रहेको छ, जसका कारण दुईवटा डिभाइससँग एकैपटक जडान गरी आवश्यकता अनुसार सहजै स्वीच गर्न सकिन्छ । साथै, स्मार्ट ट्याप कन्ट्रोलमार्फत संगीत र कलहरू नियन्त्रण गर्न सकिने सुविधा पनि यसमा उपलब्ध छ ।
ब्याट्री क्षमताका हिसाबले यो इयरबड्स शक्तिशाली रहेको कम्पनीको दाबी छ । इयरबड्स मात्र ८ घण्टासम्म चल्छ भने चार्जिङ केससहित प्रयोग गर्दा कुल ३६ घण्टासम्मको ब्याट्री ब्याकअप प्राप्त हुन्छ । यसमा फास्ट चार्जिङको सुविधा समेत छ, जसअन्तर्गत १० मिनेट मात्र चार्ज गर्दा दुई घण्टासम्म संगीत सुन्न सकिन्छ ।
नेपाली बजारमा रेड्मी बड्स ८ लाइट कालो र सेतो गरी दुई रङमा उपलब्ध छ । कम्पनीले यसको बजार मूल्य ४ हजार १९९ रुपैयाँ तोकेको छ भने एक वर्षको वारेन्टी समेत प्रदान गरिएको छ । विभिन्न साइजका इयर टिप्सहरूका साथ उपलब्ध हुने यो इयरबड्स प्रयोगकर्ताले आफ्नो कानको साइजअनुसार मिलाएर प्रयोग गर्न सक्नेछन् ।







