इरानले कुवेतमा खसाल्यो अर्को अमेरिकी लडाकु विमान

२०८२ चैत्र २१, शनिबार

काठमाडौँ : इरान र खाडीमा शुक्रबार दुईवटा अमेरिकी लडाकु विमान खसालिएको छ।

रोयटर्सका अनुसार इरान र अमेरिकाका अधिकारीहरूले खसाइएका दुई विमानका पाइलटमध्ये दुई जनालाई उद्धार गरिएको छ भने अर्का बेपत्ता छन्। उनको खोजी जारी छ।

दुवै देशका अधिकारीका अनुसार ‘एउटा दुईसिटे अमेरिकी विमान एफ-१५ ई इरानको आगोले खसालेको हो भने अर्को विमान ए-१० वार्थोग कुवेतमा इरानको बमबारीमा परेर कुवेतमा दुर्घटना भएको हो।’

विमानका चालक दलका सदस्यहरू कत्तिको घाइते छन् भन्ने विषयमा जानकारी सार्वजनिक भइसकेको छैन। बेपत्ता भएका एफ-१५ई का चालकको स्थिति र ठेगाना पनि थाहा भइसकेको छैन।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले विमान खसालिएको स्थान दक्षिण-पश्चिम इरानमा बेपत्ता पाइलटको खोजी जारी रहेको बताएको छ।

यसैबिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी लडाकु विमान खसालेका कारण जारी शान्ति वार्तामा कुनै असर नपर्ने बताएका छन्।

एनबीसी न्युजका अनुसार संक्षिप्त फोन अन्तर्वार्तामा ट्रम्पलाई लडाकु विमान खसालिएको घटनाले वार्तामा कुनै प्रभाव पार्छ कि पार्दैन भनेर सोधिएको थियो।

जवाफमा उनले भने, ‘पर्दैन, बिलकुल पर्दैन। यो युद्ध हो। हामी युद्धमा छौँ।’

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमा संयुक्त हवाई हमला गरेपछि सुरु भएको युद्ध अझै जारी छ। बदलामा इरानले इजरायलका साथै अमेरिकी आधार/अड्डा रहेका खाडीका देशहरूमा पनि आक्रमण गर्दा द्वन्द्व मध्यपूर्वभरि फैलिएको छ।

यसैबिच इरानसँग युद्ध सुरु गरेयता अहिलेसम्म अमेरिकी सेनाका १३ जना मारिएको र ३६५ सैन्य कर्मचारी घाइते भएको तथ्यांक अमेरिकाले सार्वजनिक गरेको छ।

यस्तै जारी युद्धमा अहिलेसम्म विभिन्न देशमा गरी मारिएकाको संख्या भने ५ हजार नाघिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार