सेवा प्रवाहमा हुने अनियमितता र दुर्व्यवहार मन्त्रालयमा निषेध

२०८२ चैत्र २२, आईतवार

काठमाडौँ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सबै प्रकारका अनियमितता र दुर्व्यवहारमा कडाइका साथ निषेध गर्ने भएको छ । मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सेवा थप संवेदनशील, सहज र प्रभावकारी बनाउन सेवा प्रवाहमा हुने यस्ता अनियमिततामा कडाइका साथ निषेध गर्ने चेतावनी दिएको हो ।

सेवा प्रवाहका क्रममा हुने विभेद, गैरकानुनी शुल्क असुली र बिचौलियाको संलग्नतालाई पूर्ण रूपमा निषेध गरिएको जनाएको छ। मन्त्रालयका अनुसार विशेष गरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र कमजोर अवस्थाका समुदायलाई अपमानित, असुरक्षित वा असहज बनाउने कार्यलाई कडाइका साथ नियन्त्रण गरिनेछ ।

राज्यको प्रमुख दायित्व प्रत्येक नागरिकको गरिमा र सुरक्षा सुनिश्चित गर्नु रहेको भन्दै मन्त्रालयले सेवाग्राहीलाई कुनै पनि प्रकारको अन्याय भोग्न नपरोस् भन्नेमा आफ्नो दृढ प्रतिबद्धता व्यक्त गरेको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै पनि नागरिकले सेवा लिने क्रममा दुर्व्यवहार, उपेक्षा वा अनियमितता भोगेको पाइएमा सम्बन्धित निकायमा लिखित वा मौखिक उजुरी दिन अनुरोध गरिन्छ। प्राप्त गुनासाहरूलाई गम्भीरतापूर्वक लिई आवश्यक छानबिन र कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइनेछ।’

समावेशी, सुरक्षित र मर्यादित समाज निर्माणका लागि सबैको सहयोग अनिवार्य रहेको उल्लेख गर्दै मन्त्रालयले यस अभियानमा साथ दिन सम्पूर्ण नागरिक, सरोकारवाला निकाय र सेवा प्रदायकहरूलाई आह्वान समेत गरेको छ । मन्त्रालयले आफ्नो सेवा प्रवाहलाई पारदर्शी र पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ ।

662869708_932859379351360_4452951526092797693_n

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार