दुईवर्षमा सक्नुपर्ने मल्याङ्दीखोला मोटरेबल पुल २५ प्रतिशतमात्र काम

२०८२ चैत्र २३, सोमबार

पर्वत : यहाँको कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने मोटरेबल पुल दुई वर्षदेखि अलपत्र बनेको छ ।

जिल्लाको कुश्मा–१० पिपलटारीको सिमखेतदेखि फलेवास–३ शंकरपोखरीको सिसाठाँटी जोड्ने पुल निर्माण कम्पनीले समयमै काम नगरेपछि अलपत्र बनेको हो । आर्थिक वर्ष २०८०/८१ असारमा सम्झौता भई दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुल अहिले २५ प्रतिशतमात्र प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

विसं २०८२ असारमा सम्पन्न हुने पुल निर्माणले गति लिन नसकेको हो । एक वर्षदेखि पुलको कुनै पनि काम भएको छैन । पुलका दुवैतर्फका पिल्लर निर्माण थालिएको भए पनि कामै नगरी निर्माण व्यवसायीले अलपत्र पारेको स्थानीय शिव अधिकारीले जानकारी दिए।

पुल निर्माणको सम्झौता मिति सकिएपछि छ महिनाका लागि म्याद थप भएको थियो । उक्त मितिसमेत सकिँदा पुलको भौतिक प्रगति २५ प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । बीस मिटर लामो उक्त पुल रु दुई करोड ५० लाख २८ हजार ६६७ मा सम्झौता भएर निर्माण थालिएको हो । तर पुलले गति लिन नसक्दा स्थानीयवासी चिन्तित बनेका छन् ।

स्थानीयवासी नजिकिँदै गएको वर्षायाममा पनि जाखिम मोलेरै वारपार गर्नुपर्ने बाध्यताले चिन्तित बनेका छन् । उनीहरूले पुल निर्माणले गति नलिँदा पुलको जग खनेर अव्यवस्थित रूपमा छाडेकाले आसपासको बस्तीसमेत बाढी र पहिरोको जोखिममा परेको बताएका छन् । स्थानीयवासी शिव अधिकारीले पुल निर्माणको काम ढिलाइ हुँदा नजिकै रहेको बस्तीका बासिन्दा समस्यामा परेको बताए ।

पुल नबन्दा सिमखेत–सिसाठाँटी–थापाठाना सडक वर्षायाममा ठप्प हुने गरेको छ । हिउँदमा जोखिम मोलेर खोलाबाटै सवारीसाधन सञ्चालन हुँदै आए पनि वर्षायाममा चार महिना सडक नै ठप्प हुने गरेको स्थानीयको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय र पूर्वाधार विकास कार्यलय पुगेर गुनासो राखेको भए पनि सुनुवाइ नभएको अधिकारीले बताए । पुल निर्माणको जिम्मा पाएको सेट स्क्वायर जेभी राजविराजले भने गत वर्षभन्दा चालु वर्षमा निर्माण समाग्रीको मूल्यवृद्धि भएका कारण आफूले समयमा काम गर्न नसकेको बताएको छ ।

कम्पनीका प्रमुख राकेशकुमार शाहले सम्झौता भएको वर्षमा भन्दा चालु आवमा निर्माण सामग्रीको धेरै मूल्यवृद्धि भइसकेको जनाउँदै पुल निर्माणमा ढिलाइ भएको बताए । पूर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई छिटो काम सिध्याउन आग्रह गरेको छ ।

एकपटक म्याद थपिएको र अब पनि धमाधम निर्माण नगरेमा म्याद नथप्नुका साथै सम्झौता तोडेर धरौटी जफत गरिने कार्यालय प्रमुख अर्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार