चेन्नई : दक्षिण भारतीय टेलिभिजन उद्योगकी चर्चित अभिनेत्री सुभाषिनी सुब्रमण्यम (जसलाई ‘सस्विबाला’ नामले पनि चिनिन्छ) आइतबार राति चेन्नईको अय्यप्पन्थंगलस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेकी छिन्। ३६ वर्षीया अभिनेत्रीले श्रीमान्सँगको भिडियो कलका क्रममा आत्महत्या गरेको प्रारम्भिक रिपोर्टहरूले जनाएका छन्।
प्रहरी अनुसन्धानका अनुसार सुभाषिनीले मृत्युअघि आफ्ना श्रीमान् विपिन चन्द्रनसँग भिडियो कलमा कुराकानी गरेकी थिइन्। उक्त संवादका क्रममा उनीहरूबीच घरायसी विवाद भएको र त्यसलगत्तै उनले यो कठोर कदम चालेको बताइएको छ।
उनले सन् २०२४ मा विपिन चन्द्रनसँग विवाह गरेकी थिइन्। विगत केही समयदेखि उनीहरू छुट्टाछुट्टै बस्दै आएका थिए। रिपोर्टहरूका अनुसार अभिनेत्री केही समययता मानसिक तनाव र ‘डिप्रेसन’सँग जुधिरहेकी थिइन्।
चेन्नई प्रहरीले शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ। यद्यपि, आत्महत्याको ठोस कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान भइरहेको छ। श्रीलंकाकी स्थायी बासिन्दा सुभाषिनी तामिल टेलिभिजन र चलचित्र उद्योगमा काम गर्ने सिलसिलामा चेन्नईमा बसोबास गर्दै आएकी थिइन्। उनले सन् २०१२ मा चलचित्र ‘इन्नी आभन’ बाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्।
उनले टेलिभिजन श्रृङ्खला ‘कायल’ मा ‘दीपिका’को भूमिकाबाट व्यापक लोकप्रियता हासिल गरेकी थिइन्। उनले ‘इलाम मेला इरुक्कुरवन पाथुप्पन’ र ‘वेब’ जस्ता चलचित्रहरूमा पनि अभिनय गरेकी थिइन्।
सामाजिक सञ्जाल इन्स्टाग्राममा उनका करिब ४.५ लाख अनुयायीहरू छन्। उनले आफ्नो अन्तिम पोस्ट दुई दिनअघि मात्र गरेकी थिइन्, जसमा उनले ‘जीवनको सार’ बारे चर्चा गरेकी थिइन्। उनको असामयिक निधनले उनका प्रशंसक र मनोरञ्जन क्षेत्रका सहकर्मीहरू स्तब्ध भएका छन्।









