काठमाडौं : नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन् । शपथ ग्रहणसँगै पण्डितले सोही दिनदेखि पदभारसमेत सम्हालेका छन् । नेपाल सरकार (मन्त्रिपरिषद्) को चैत २४ गतेको निर्णयअनुसार पण्डितलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो ।
शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । डेपुटी गभर्नर पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा राष्ट्र बैंक सेवा प्रवेश गरेका थिए । त्यसपछि उनी क्रमशः उप–निर्देशक, निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए ।
कार्यकारी निर्देशक रहँदा उनले भुक्तानी प्रणाली विभाग तथा विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए । साथै, राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालेका थिए ।









