काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार तेस्रो जित निकालेको छ । मंगलबार राति सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई २७ रनले पराजित गरेको हो ।
वर्षाका कारण खेल ११ ओभरमा घटाइएको थियो । ११ ओभरको खेलमा राजस्थानले दिएको १५१ रनको बलियो लक्ष्य पछ्याएको मुम्बईले ९ विकेट गुमाएर १२३ रन मात्र बनाउन सक्यो । नमन धिर र शेरफन रदरफर्डले सर्वाधिक समान २५ रन बनाए । तिलक वर्माले १४ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
राजस्थानका लागि नान्द्रे बर्गर, रवि विश्नोई र सन्दीप शर्माले २-२ विकेट लिँदा जोफ्रा आर्चर र तुषार देशपान्डेले १-१ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित ११ ओभरमा ३ विकेट गुमाएर १५० रन बनाएको थियो । ओपनर यशश्वी जैसवाल र वैभव सूर्यवंशीले शानदार सुरुवात दिलाए ।
जैसवाल ३२ बलमा ७९ रनमा अविजत रहे । उनले १० चौका र ४ छक्का प्रहार गरे । वैभवले १४ बलमा ३९ रन बनाएर आउट भए । कप्तान रियान परागले २० रन बनाए । मुम्बईका अलाह गजनफरले २ विकेट लिँदा शार्दुल ठाकुरले १ विकेट लिए ।







