मेरो बारेमा भ्रामक र झुटा प्रचारबाजी गरियो : देउवा

२०८२ चैत्र २५, बुधबार

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफ्नो बारेमा भ्रामक र झुटा प्रचारबाजी भएको भन्दै आफू विदेशमा उपचाररत रहेको बताएका छन्।

श्रीमती आरजु राणासहित आफूविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ पुर्जी जारी भएपछि देउवाले फेसबुकमार्फत स्पष्टीकरण दिएका हुन्।सार्वजनिक पदमा रहँदा आफूहरूले सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको उल्लेख गर्दै देउवाले आफ्नो जीवन देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनालगायतको संघर्षमै व्यतीत गरेको उल्लेख गरेका छन्।

आफ्नो जीवन खुला पुस्तकको रूपमा रहेको भन्दै देउवाले लेखेका छन्, ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौँ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरन्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।’

आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र आफ्नै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको उल्लेख गर्दै देउवाले आफ्ना बारेका अतिरन्जनाबाट भ्रममा नपर्न आग्रह गरेका छन्।

देउवादम्पती हाल उपचारका लागि हङकङमा छन्। जेन–जी आन्दोलनका क्रममा देउवानिवासमा भएको आगजनी र तोडफोडपछि ठुलो रकम भेटिएको भिडियो सार्वजनिक भएको थियो। उक्त रकमको स्रोत र संकलन प्रक्रियाबारे प्रश्न उठेपछि केही समयदेखि छानबिनको माग बढ्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार