काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
दाहालविरुद्ध ९३ हजार ८५० रुपैयाँ बिगो कायम गरेर अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरुलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले दाहालले १ लाख २० हजार ८५० रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।
उनले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने बदनियत राखी विभिन्न कम्पनी–फर्महरुका प्रतिनिधिसँग भुक्तानीको प्रक्रियामा सहजीकरण गरी सेवाग्राहीसँग ९३ हजार ८५० रुपैयाँ लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
दाहालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ।









