मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान

२०८२ चैत्र २५, बुधबार

जनकपुरधाम : मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयले जनाएको हो ।

यस वर्ष मधेस प्रदेशमा आँपका रुखमा आँपको मजर अर्थात् फूल अत्यधिक लागेको थियो तर मधुवा रोगले समस्या उत्पन्न भएको हो । निर्देशनालयका अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो । तर रोगले गर्दा सो अनुमान अनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले बताए ।

निर्देशनालयबाट प्राप्त विवरणअनुसार यस वर्ष मधेस प्रदेशका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन् । मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ । मधेस प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् ।

व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । गत आवमा मधेस प्रदेशका किसानले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको थियो । मधेसमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली र दशहरी नकुअवा, केरवा, विजु, सिपिया लगायतका आँप खेती गरिएको छ ।

नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिकटन आँप नेपाल भित्रिएको थियो । जसको मूल्य करिब दुई करोड १५ लाख रूपैयाँ बराबर रहेको छ ।

हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार