काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारको खुट्टी हेर्दा आफूलाई खासै पत्यार नलागेको बताएका छन् ।
सरकारको काम कारवाही सन्तोषजनक नरहेको भन्दै बस्नेतले पूर्ववर्ती सरकार र वर्तमान सरकारका काम कारबाहीमा खास फरक नरहेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।
बस्नेतले भने, ‘एकै किसिमको घटनामा पूर्ववर्ती सरकारको व्यवहार सेलेक्टिभ हुने गथ्र्यो, अहिलेको सरकार पनि सेलेक्टिभ छ । पूर्ववर्ती सरकारले पनि विदेशी ऋण लिन्थ्यो यो सरकारले पनि लियो । यातायातको भाडा बढ्थ्यो, अहिले पनि बढ्यो । महंगी र मुल्य बृद्धि हुन्थ्यो अहिले पनि व्यापक मुल्य बृद्धि र महंगी छ ।’
झण्डै दुई तिहाईको मतादेश पाएको सरकारको कामकारबाही जनताले गम्भीरतापूर्वक नियालीरहेको भन्दै सरकारको हाउभाउ र रबैया साउथ इन्डियन मुभीजस्तो भएको उनको भनाइ छ । उनले भने, ‘युवाहरुले पक्कै पनि साउथ इन्डियन फिल्म मन पराउँछन् तर नेपालमा ब्लकबस्टर हुने भनेको पूर्णबहादुरको सारंगीजस्तो मौलिक नेपाली फिल्म नै हो । यो कुरा सरकारले गम्भीरतापूर्वक बुझ्न जरुरी छ ।’
लोकतन्त्रमा जनता बलियो र सचेत बनेमात्र सरकार जवाफदेही बन्ने उनको तर्क छ । सुशासन र विधिको शासन जनताले अनुभूत गर्ने कुरा भएको उनको भनाइ छ ।









