इरानलाई ट्रम्पको चेतावनी: युद्धविराम लागु भएन भने अझ भीषण आक्रमण सुरु गरिनेछ

२०८२ चैत्र २६, बिहीबार

काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम सम्झौता पूर्ण रूपमा कार्यान्वयन नभएसम्म अमेरिकी सेना इरान आसपास तैनाथ रहने बताएका छन्। ट्रम्पले ट्रुथ सोसलमा पोस्ट गर्दै सम्झौता पालना गरिएन भने पहिलेभन्दा अझ आक्रामक ढंगले गोलाबारी सुरु हुने चेतावनी दिएका छन्।

उनले लेखेका छन्, ‘सबै अमेरिकी जहाज, विमान र सेना इरानभित्र वा आसपास रहनेछन्। जबसम्म वास्तविक सम्झौता पूर्ण रूपमा कार्यान्वयन हुँदैन।’ उनले अगाडि लेखेका छन्, ‘कुनै कारण सम्झौता लागु भएन भने आक्रमण फेरि सुरु हुनेछ- पहिलेभन्दा अझ भयंकर र शक्तिशाली। धेरै पहिले नै यो सहमति भएको थियो- आणविक हतियार हुने छैन र होर्मुज स्ट्रेट खुला र सुरक्षित रहनेछ।’

ट्रम्पले थप लेखेका छन्, ‘यसैबिच हाम्रो महान् सेना आफ्नो अर्को विजयका लागि तयारी गरिरहेको छ। अमेरिका इज ब्याक।’ खासगरी युद्धविराम लेबननमा पनि हो कि होइन भन्ने विषयमा इरान र अमेरिकाबिच विवाद देखिएको छ।

युद्धविराम घोषणा गरिएको भोलिपल्टै बुधबार इजरायलले लेबननमा भीषण हवाई आक्रमण गरी २५४ जना मारेपछि यो विवाद सतहमा आएको हो। यसपछि इरानले अमेरिकाले दशबुँदे प्रस्तावका तीन सर्त उल्लंघन गरेको आरोप लगाउँदै अब युद्धविरामको अर्थ नभएको बताएको छ।यसैबिच अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले भने युद्धविराम सम्झौतामा लेबनन उल्लेख नभएको दाबी गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार