असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

२०८२ चैत्र २६, बिहीबार

काठमाडौं : फागुनको अन्तिम सातादेखि झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारीमा व्यापक क्षति पुर्‍याएको छ।

मुख्य खाद्यान्न तथा नगदेबालीका रूपमा रहेको मकैसँगै तरकारी, फलफूल र माहुरीपालनसमेत प्रभावित भएका छन्। जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार फागुनको अन्तिम सातादेखि चैत दोस्रो सातासम्म मात्रै कृषि क्षेत्रमा रु ३ अर्ब १९ करोड २९ लाख ८२ हजार बराबरको क्षति भएको छ। यसबाहेक रु १ अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६ सय बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ।

झापाका १५ वटै पालिकामा क्षति देखिए पनि सबैभन्दा बढी असर मकैबालीमा परेको छ। हावाहुरीसँगै परेको असिनाले बाली थिचिएपछि उत्पादन नउठ्ने अवस्थामा पुगेको किसानहरूको भनाइ छ। सबैभन्दा प्रभावित क्षेत्रमध्ये बाह्रदशी गाउँपालिका रहेको छ, जहाँ लगाइएको मकैबालीमध्ये करिब ७५ प्रतिशत नष्ट भएको छ। सात वडा रहेको पालिकामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा ठूलो क्षति पुगेको विष्टले जानकारी दिए।

मकैबालीमा मात्रै रु २७ करोड २७ लाखभन्दा बढीको पूर्ण क्षति भएको छ भने आंशिक क्षति रु ७५ करोड ५७ लाख नाघेको छ। वडागत विवरणअनुसार बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ भने अन्य वडामा पनि उल्लेख्य क्षति पुगेको छ।

बाह्रदशी–१ मा ४३९ हेक्टरमध्ये २५ हेक्टरमा पूर्ण र ३३ हेक्टरमा आंशिक क्षति भएको छ। बाह्रदशी–२ मा ७८० हेक्टरमध्ये ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टरमा आंशिक क्षति भएको छ। बाह्रदशी–३ मा ६९३ हेक्टरमध्ये ५१९ हेक्टरमा पूर्ण र ५० हेक्टरमा आंशिक क्षति भएको छ।

त्यस्तै बाह्रदशी–४ मा ५४७ हेक्टरमध्ये २६९ हेक्टरमा पूर्ण र १३३ हेक्टरमा आंशिक क्षति भएको छ। बाह्रदशी–५ मा ९५७ हेक्टरमध्ये १६७ हेक्टरमा पूर्ण र ४०० हेक्टरमा आंशिक क्षति भएको छ। बाह्रदशी–६ मा ६५३ हेक्टरमध्ये २० हेक्टरमा पूर्ण र ६७ हेक्टरमा आंशिक क्षति पुगेको छ। बाह्रदशी–७ मा ५३० हेक्टरमध्ये ३३ हेक्टरमा पूर्ण र १०० हेक्टरमा आंशिक क्षति भएको छ।

मकैपछि तरकारी बालीमा पनि उल्लेख्य असर परेको छ। विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसान प्रत्यक्ष प्रभावित भएका छन्। बाह्रदशी–१ मा १ हेक्टर, –२ मा २ हेक्टर, –३ मा ५ हेक्टर, –४ मा ३ हेक्टर, –५ मा २ हेक्टर, –६ मा १ हेक्टर र –७ मा २ हेक्टरमा तरकारी बालीमा क्षति पुगेको छ।

असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले किसान मारमा परेको विष्टले बताए। फूल लागेको तथा गोडाइको अवस्थामा रहेका बालीमा असिनाले बढी क्षति पुर्‍याएको उनले उल्लेख गरे। स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल सुरु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार