काठमाडौं : बैशाख २५ देखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘मालती मंगले’ को टिजर युट्युबमा सार्वजनिक भएको छ ।
संगीतकर्मी समेत रहेका रामकृष्ण ढकालले निर्माण गरेको यो फिल्मले गाउँले परिवेशको मर्मस्पर्शी प्रेमकथालाई चित्रण गर्छ । केही वर्ष पुरानो ग्रामीण समाजको पृष्ठभूमिमा खिचिएको फिल्मको यस टिजरमा प्रेम, विश्वास र शङ्काका विभिन्न पाटाहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथै नरिन थापा, मान्सु सापकोटा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने सह–निर्माताहरूमा बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरुङ, स्वीकृति बस्नेत र मिलन बजगाईँ रहेका छन् ।
प्राविधिक पक्षमा महेश पौडेलको छायाङ्कन, रोमी मोजेजको सम्पादन, कृष्ण भण्डारीको रङ्ग संयोजन र डिकेश खड्गीको ध्वनि मिश्रण रहेको छ । गीतहरूमा हर्क साउदको शब्द, एसडी योगीको सङ्गीत र रिकेश गुरुङको एरेन्ज रहेको छ भने भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन् । चलचित्र आरआर फिल्म्सले वितरण गर्नेछ ।





