काठमाडौँ : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले आफ्नो कारण संसदीय दलको नेता चयनमा ढिलाइ भयो भन्नु असत्य र भ्रामक रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा केसीले लेखेका छन्, ‘मेरो कारणले ढिलाइ भयो भन्ने वा नाता र नेताका भाष्य पनि बाहिर छ्यापछ्याप्ती आयेका छन् । यो असत्य र भ्रामक हो ।’
उनले पार्टीका दलको नेता चयन गर्न ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक रहेको उल्लेख गरेका छन् ।
‘मैले पार्टी भित्र र सार्वजनिक रूपमा नै भनिनै सकेको छु । सहमतिको मापदण्ड बनाऊँ र सकेसम्म सर्वसम्मति गरौँ । मेरो पूर्ण समर्थन हुनेछ । सबैभन्दा युवालाई गरौँ वा सबैभन्दा वरिष्ठलाई’ केसीले लेखेका छन् ।
उनले प्रत्यक्ष वा समानुपातिक जुनसुकै प्रक्रियाबाट आएका भए पनि सांसद भएपछि विभेद उचित नहुने बताए । दलको नेता निर्वाचनबाट गर्ने हो भने निश्चित मापदण्डको आधारमा योग्यतामा आधारित, न्यायोचित र तार्किक निर्णयमा पुग्नुपर्ने उनको भनाइ छ ।
संसदीय दलको नेता केवल पद नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी भएकाले ढिलाइ होइन, परिपक्व र सक्षम निर्णय आवश्यक रहेको केसीले बताएका छन् ।









