क्रियाशील सदस्यता खारेज होइन, अद्यावधिक गर्दै छौँ : महामन्त्री पौडेल

२०८२ चैत्र ३०, सोमबार

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता खारेज होइन अद्यावधिक गरिने बताएका छन्।

सभापति गगन थापाले क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेको ५ दिनपछि महामन्त्री पौडेलले फरक कुरा गरेका हुन्।

चैत २५ मा सभापति थापाले कांग्रेसको क्रियाशील सदस्यता खारेज भएको घोषणा गरेका थिए।

‘कांग्रेसको केन्द्रीय समिति बैठकबाट कांग्रेसको क्रियाशील सदस्यता खारेज गरेका छौँ। अहिले क्रियाशील सदस्यता छैन। पार्टीका पदाधिकारीदेखि प्रदेश सभापति सबैले आवेदन दिएर क्रियाशील सदस्यता अद्यावधिक गर्नुहोला,’ थापाले भनेका थिए।

सभापति थापाको घोषणापछि क्रियाशील सदस्यता खारेज गरिएको हो भनेर धेरैले प्रश्न गरेपछि महामन्त्री पौडेलले सोमबार बिहान सामाजिक सञ्जालमार्फत जवाफ दिएका हुन्।

उनले लेखेका छन्, ‘हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ।’

अब अद्यावधिक हुने क्रियाशीलले कांग्रेसलाई गाउँगाउँमा जोड्ने उनको भनाइ छ।

‘नेपाली कांग्रेसप्रति समर्पित क्रियाशील सदस्यहरुको नवीकरणले हामीलाई थप जिम्मेवार र मजबुत बनाउनेछ,’ उनले लेखेका छन्, ‘विगतमा देखिएका त्रुटि हटाउन यसपटक हामीले प्राविधिक पक्षमा विशेष ध्यान दिएर क्रियाशील अद्यावधिक प्रक्रिया अघि बढाउँदै छौँ।’

विद्यमान परिस्कृत प्रणालीबाट अद्यावधिक गर्दा कांग्रेसले क्रियाशीलमा यसअघि भोग्दै आएका समस्या र अन्योल हटाउन सकिने पौडेलको दाबी छ।

‘भोलिबाटै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील साथीहरूलाई सदस्यता अद्यावधिक गर्न तथा शुभेच्छुक र कांग्रेसमा आस्था राख्नेहरूलाई क्रियाशील सदस्यता लिन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार