काठमाडौँ : काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा स्कुटर फेला पारी आज सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको छ ।
उपत्यकाका विभिन्न स्थानबाट हराएका सवारीसाधन खोजतलास गरी वास्तविक वा नक्कली नम्बर प्लेटमा १७ वटा स्कुटर र ३३ वटा मोटरसाइकल फेला पारेर आज एकैपटक सवारीधनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
उनले सवारी सुरक्षाका विषयमा सचेत रहन आग्रह गर्दै भने, “सवारीसाधनमा जिपिएस प्रणाली जडान गर्ने, बलियो लक प्रयोग गर्ने र सुरक्षित स्थानमा पार्किङ गर्ने बानी विकास गर्न जरुरी छ । यसले चोरीका घटना न्यूनीकरण गर्न मद्दत पुर्याउँछ ।” यसैगरी, ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले हराएका सवारीसाधन खोज्न विशेष टोली परिचालन गरिएको जानकारी दिए ।
उनका अनुसार कतिपय सवारी नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन भइरहेको अवस्थामा फेला पारिएका थिए । यस्ता गतिविधिमाथि कडा निगरानी राखिएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।







