काठमाडौं : नयाँ वर्ष ०८३ को पहिलो दिन ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा देवी मन्दिरमा दर्शनार्थीको भिड लागेको छ ।
देशका विभिन्न स्थानबाट आएका हजारौँ भक्तजनले मन्दिर क्षेत्रमा चहलपहल बढाए हो। नयाँ वर्षको अवसर पारेर आउने अधिकांश दर्शनार्थी नेपाली तथा भारतको सिक्किमबाट आउने गरेका छन् । पाथीभरा देवीको दर्शन, पूजापाठ तथा भाकल गरेमा मनोकांक्षा पूरा हुने जनविश्वासका कारण नयाँ वर्षमा यहाँ आउने भक्तजनको आगमन बढिरहेको छ ।
हिन्दु धर्मअनुसार पाथीभरा देवीलाई शक्तिपीठका रूपमा मानिन्छ । यहाँ पुगेर दर्शन तथा पूजा गरेमा मनोकामना पूरा हुने विश्वास छ । समुद्री सतहदेखि करिब तीन हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरा मन्दिर पूर्वी नेपालको प्रमुख धार्मिक गन्तव्यका रूपमा परिचित छ ।







