काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहज्यूले सबै पार्टीको तर्फबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग बुधबार अन्तर्क्रिया गर्ने भएका छन्।
मध्याह्न १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अन्तर्क्रिया हुन लागेको हो। कार्यक्रममा सांसदज्यूहरूले आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्।
यस अन्तर्क्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि उनले प्रदेशगत रूपमा प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुसँग छलफल गरेका थिए।










