काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा विशेष बैठक आयोजना गर्ने भएको छ।
केन्द्रीय सचिवालयले सातवटै प्रदेश कार्यसमितिसँगको समन्वयमा वैशाख दोस्रो सातासम्म यी बैठकहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ। प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय सचिवालयले प्रदेश कार्यसमितिहरूसँगको परामर्शमा बैठकको मिति तय गरिरहेको छ।
निर्वाचनको परिणाम र पार्टीको वस्तुस्थितिबारे विश्लेषण गर्न यो समीक्षा प्रक्रिया अघि बढाइएको हो। यी बैठकहरूमा सम्बन्धित प्रदेश कार्यसमितिका अध्यक्ष, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष र प्रदेशसभा क्षेत्रीय अध्यक्षहरूको सहभागिता रहनेछ। यस्तै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरू र जिल्ला निर्वाचन समितिका संयोजकहरूलाई पनि बैठकमा आमन्त्रण गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
पार्टीको केन्द्रीय सचिवालयले आयोजना गर्ने ती सबै प्रदेशका समीक्षा बैठकहरूमा अध्यक्ष राजेन्द्र लिङ्देन एवं केन्द्रीय पदाधिकारीहरूको प्रत्यक्ष सहभागिता रहने बताइएको छ।








