काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा जाने एजेन्डा आफ्नो नभएको जिकिर गरेका छन् ।
भदौमा भएको जेनजी आन्दोलनको क्रममा धेरै मिहेनत गरेर संविधान बचाएको दाबी गर्दै आएका प्रचण्डले बोली फेरेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा सदस्यहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले अघिल्ला अभिव्यक्ति सच्याएका हुन् ।
बैठकमा जेनजी आन्दोलनपछि पार्टीको पक्षमा माहोल नहुँदा नहुँदै निर्वाचनमा किन गएको भनेर नेतृत्वको आलोचना भएको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा नेकपाले जम्मा १७ सिट जितेको छ । पार्टीको प्रमुख नेतामध्ये प्रचण्ड र वर्षमान पुनले मात्र जितेका थिए । प्रचण्डले पहिलेका अभिव्यक्ति सच्याउँदै आफ्नो कारण नभई राष्ट्रिपति रामचन्द्र पौडेलका कारण निर्वाचनमा जान बाध्य भएको बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए ।





