काठमाडौं : फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण पक्षले चार मिनेटभन्दा लामो मर्मस्पर्शी ट्रेलर दर्शकमाझ ल्याएको हो । ट्रेलरले दुई विवाहित जोडीको कथा पेस गरेको छ ।
ट्रेलर अनुसार प्रकाश सपूत र सुहाना थापा नवविवाहित दम्पतीको भूमिकामा छन् । सुरुमा उनीहरूबीच अगाध मायाप्रेम देखिन्छ । तर, विस्तारै घरायसी कुरामा असमझदारी उत्पन्न हुँदा त्यसले झगडाको रुप लिन्छ । यसपछि सुहाना माइतीमा बस्न थाल्छिन् । प्रकाशले भने घरायसी काममा दुःख पाएको देखाइएको छ । उनीहरूबीचको मायाप्रेम र झगडाकै वरिपरि ट्रेलर घुमेको छ ।
वैशाख ११ गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा किशोर भण्डारी, शंकर आचार्य, सरिता भण्डारी, कुल बहादुर अधिकारी, मन्जिला बाँनिया, रेनु न्यौपाने लगायतका कलाकारहरूको पनि अभिनय देख्न सकिनेछ । हरिओम सिने मेकर्सका सुशील पोखरेल लगानीकर्ता रहेको फिल्ममा सुशील देवकोटाको पटकथा तथा संवाद लेखन छ ।
फिल्ममा संकल्प भुजेलको छायांकन, मिलन श्रेष्ठको सम्पादन, रामजी लामिछानेको नृत्य निर्देशन, किरण तुलाधरको पार्श्व संगीत, कनाल कँवरको रंग संयोजन तथा शान्ती ठटाल, सत्य-स्वरुप र प्रकाश सपूतको संगीत रहेको छ ।





